१५ जेठ २०८३, शुक्रबार

संगीत रोयल्टी : अनामनगरका विद्यालय, रेस्टुरेन्टमा हरियो र रातो स्टिकर टाँसियो

काठमाडौं । सार्वजनिक थलोमा बजाइने संगीतलाई रोयल्टीको दायरामा ल्याउन पहल सुरु भएको छ । यसका लागि संगीत रोयल्टी संकलन समाजले आइतबारदेखि काठमाडौं उपत्यकामा हरियो र रातो स्टिकर टाँस्ने अभियान थालेको छ ।

रेस्टुरेन्ट, विद्यालय, सार्वजनिक यातायातका साधनसहितका थलोमा स्टिकर टाँस्न सुरु गरिएको समाजका महासचिव बद्री पाण्डेले बताए । आइतबारदेखि अनामनगर क्षेत्रका रेस्टुरेन्ट र स्कुलबाट स्टिकर टाँस्न सुरु गरिएको उनले जनाए ।

‘गीत-संगीत प्रयोग क्षेत्र’मा हरियो स्टिकर र ‘गीतसंगीत निषेध क्षेत्र’मा रातो स्टिकर टाँस्न थालिएको हो । ‘गीतसंगीतको बढी उपभोग हुने काठमाडौं उपत्यकामा सुरु अभियान चलाइनेछ’ पाण्डेले भने, ‘त्यसपछि उपत्यकाबाहिरका जिल्लामा पुगेर अभियान चलाउने योजना छ । सकेसम्म यो अभियान चाँडै देशव्यापी हुन्छ ।’

‘सार्वजनिक थलोलाई कानुनअनुसार रोयल्टीको दायरामा ल्याउने र सर्जकको अधिकारलाई संरक्षण गर्ने हाम्रो उद्देश्य हो’ पाण्डेले भने । दशैंअघि समाजले रेस्टुरेन्ट, विद्यालय र सार्वजनिक यातायातलाई पत्र काटेर यसबारे जानकारी दिएको थियो ।

पाण्डेले ‘संगीत प्रयोग गर्दिनँ’ भनेर शर्तनामा गरेका संस्था र क्षेत्रमा ‘नो म्युजिक’ लेखेको स्टिकर टाँसिएको बताए । ‘हामीले संगीत निषेधित गरेका ठाउँमा प्रहरीको चेकजाँच पनि बढाउँछौं’ उनले भने, ‘शर्त गरेर पनि रोयल्टी तिर्दिनँ भनेर संगीतको प्रयोग गर्नुभयो भने कानुनअनुसार क्षतिपूर्ति माग्छौं ।’

रोयल्टी नतिरी सार्वजनिक प्रयोग गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ ले तोकेको कसुरको मात्राअनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

दोस्रो पटकदेखि पटकैपिच्छे २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । गलत कार्यमा प्रयोग भएका सामग्री जफत गर्ने एवं नोक्सानी बापतको क्षतिपूर्ति भराउने समेत कानुनी व्यवस्था छ । अनलाइनखबर

Read Previous

होटल, रेष्टुरेन्टदेखि सार्वजनिक यातायातमा गीत बजाउँदा पैसा तिर्नुपर्ने, नतिरे कारबाही

Read Next

सार्वजनिक यातायातमा ‘संगीतको लाइसेन्स’ चेकजाँच जगातीबाट सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *